मुस्ताङ बस दुर्घटनाका घाइतेलाई मणिपालले उपचार गरेन


तीर्थयात्री बोकेर मुक्तिनाथ मन्दिर दर्शनपछि सदरमुकाम जोमसोम फर्किँदै गरेको ना५ख ६०६७ नं. को बस शनिबार कागवेनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० घाइते भएका छन् ।

मृत्यु हुनेमा बागेश्वरी नगरपालिका वडा नम्बर ३ की ७० वर्षीया शान्ति खड्का, चाँगुनायणका ४० वर्षीया सीता तिमिल्सिना, महालक्ष्मी नगरपालिका वडा नंं २ की ५५ वर्षीया लीला खड्का, काठमाडौं महानगरपालिका वडा नंं ३५ का ५५ वर्षीय भोला अधिकारी र काठमाडौ ३२ कै ४४ वर्षीय पुरुषोत्तम ढकाल छन् ।

मणिपालको लापरबाही
बस दुर्घटनाका घाइतेको उपचारमा पोखराको मणिपाल शिक्षण अस्पतालको चरम लापरबाही देखिएको छ ।  सेनाको हेलिकोप्टरमार्फत मुस्ताङबाट दिउँसो घाइते ल्याइए पनि अस्पतालमा चलेको आन्दोलनको कारण आधा घण्टा जति घाइतेलाई अस्पताल अगाडि हेलिकोप्टरमै राखिएको थियो ।

प्रशासनले बिरामीलाई उपचार गराउन आग्रह गर्दा अस्पतालले बिरामी नलिने भएपछि पोखराका विभिन्न अस्पतालका एम्बुलेन्स बोलाएर बिरामीलाई उपचारार्थ लगिएको थियो ।

वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक किशोर लम्सालले अस्पतालले बिरामी भर्ना लिन नमानेपछि अन्य अस्पतालमा पठाएको बताए ।

 यता, नेपाली सेनाको हेलिकोप्टरबाट बिरामी लिएर आएका पाइलटले भने, खराब मौसममा जोखिम मोलेर घाइतेको उद्दार गरी अस्पताल ल्याइयो, घाइतेलाई आधा घण्टा हेलिकोप्टरमा राख्नुपर्दा हाम्रो दुःखको के अर्थ ?

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मणिपालले उपचार गर्ने नमाने पनि अन्य अस्पतालमा घाईतेको उपचार बताए । उनले मणिपालको चरम लापरबाहीप्रति कडा कारवाही गर्ने बताए ।

उपचारार्थ पोखरा ल्याइएका घाइते अधिकांशको खुट्टा, हात, कम्मर, टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

दुर्घटनामा परेका घाइतेको उपचारमा अस्पताल गैरजिम्मेवार हुँदा पनि प्रशासन भने मौन बस्नु बिडम्बना हो ।

उता, हेलिकोप्टरमा रहेका घाइतेको लगातार रुवाबासी चलिरहँदा नजिकैका अस्पतालका चिकित्सकको मन फर्किन सकेन । सेवा सुविधा माग गर्दै अस्पतालका चिकित्सक केही दिनदेखि आन्दोलित छन् ।