पँधेरामा सासु बुहारीको झडप, प्रहरीले पायो सास्ति, घाइतेलाई जिल्ला हुँदै अंचल अस्पताल लगियो


अर्घाखाँची। पँधेरामा भएको झगडा प्रहरीसमक्ष पुगेको छ। पँधेराको झगडा, त्यो पनि सासु र बुहारी को। झगडा पनि चानचुन हैन, अस्पताल नै भर्ना हुनु पर्ने तहको कुटाकुट।

शनिबार बिहान करिव ८ बजेको समयमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ८ पकलेमा पानी भर्ने विषयमा सासु र बुहारीबीच झगडा भएको हो। वर्ष  ५५ की ज्ञानी नेपाली र उनकी बुहारी वर्ष २८ की कमला नेपालीबीच धारामा पानी भर्ने विषयलाई लिएर विवाद भएको हो।

विवाद उत्कर्षमा पुगेपछि झगडाले हिंसात्मक रूप लियो। युवा अवस्थाकी बुहारी सासुमाथि भारी परिन्। सासु ज्ञानी नेपाली गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीमा खबर गरे। उनलाई उपचारको लागि तत्कालै जिल्ला अस्पताल सन्धिखर्क लगियो।

प्रहरी टोलिले जिल्ला अस्पताल पुर्याएको थियो, त्यहाँ उपचार सम्भव नहुने भनेपछि थप उपचारको लागि घाइते सासुलाई लुम्बिनी अंचल अस्पताल रूपन्देही लगिएको प्रहरीले जनाएको छ।