स्याङ्जा : शुक्रबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षामा सहभागी मध्ये स्याङ्जाका सबैभन्दा जेष्ठ ६८ बर्षे दुर्गे कामीले ‘डी’ ग्रेड प्राप्त गर्नुभएको छ। कालाभैरव माध्यमिक विद्यालयका नियमिततर्फका परीक्षार्थी कामीले १ दशमलव २ जीपीए ल्याएर डी ग्रेड प्राप्त गर्नुभएको विद्यालयका प्रधानाध्यापक राजुकुमार श्रेष्ठले जानकारी दिनुभयो।
फेदिखोला गाउँपालिका अन्र्तगत कालाभैरब माध्यमिक विद्यालयका नियमित छात्र कामी ४ कक्षादेखिदेखि सोही विद्यालयका नियमित विद्यार्थी हुनुहुन्छ। चार छोरा, दुई छोरी र करिब डेढ दर्जन नातिनातिना धनी कामीको घर फेदिखोला गाविसको देउरालीमा पर्दछ। लामो सेतो दाह्री, जुंगा अनि लामै कपाल, हातमा लौरौ। पिठ्यूमा झोला बोकेर विद्यालय पोशाकमा दिनहुँ २ घण्टा पेैदल हिँडेरै विद्यालय जानुहुन्थ्यो।
ढल्कदो उमेरसंगै पढाइलाई निरन्तरता दिनुभएका काकीले एसईईको नतिजापछि उच्च शिक्षा पढ्ने जाँगर बढेको बताउनुभयो। पढाइको महत्व दर्शाउदै समाजमा उदाहरणीय बन्नका लागि पनि अध्ययनलाई अघि बढाउने कामीको लक्ष्य छ। एसईईको नतिजा सार्वजनिक भएसंगै पोखरामा रहेका आफन्तले ११ बजेतिर पहिलो फोन गरेर बधाई दिएको कामी बताउनुहुन्छ।
घरमा एक्लै बस्नु पर्दाको क्षण खल्लो र नरमाइलो मान्ने कामी विद्यालय आउन थालेपछि मन रमाएको सुनाउनुहुन्छ। पीडा र एक्लोपन भुल्दै ढल्कदो उमेरसंगै शिक्षा लिने चाहना बोक्नु भएका कामी इच्छा शक्ति नै ठूलो कुरा भएको बताउदै दृढ इच्छाशक्ति भएमा असम्भव केही नहुने कामीको भनाइ छ।






