महेन्द्रनगर : न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष एवं महेन्द्रनगरबाट प्रकाशित हुने दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र पत्रिकाका कार्यकारी सम्पादक गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
सम्पादक भण्डारीलाई शनिबार बिहान पत्रिकाकै कार्यालयमा प्रहरीको टोली पुगेर पक्राउ गरेको हो भने कार्यकारी सम्पादक गणेशदत्त भट्टलाई महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो।
सम्पादक भण्डारीलाई शनिबार बिहान पत्रिकाकै कार्यालयमा प्रहरीको टोली पुगेर पक्राउ गरेको हो भने कार्यकारी सम्पादक गणेशदत्त भट्टलाई महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो।
‘सार्वजनिक अपराधको अनुसन्धानको सिलसिलामा’ भन्दै प्रहरीले सम्पादक भण्डारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले सम्पादक भण्डारीलाई भीमदत्त नगरपालिका १८ कटानस्थित दैनिक मानसखण्डको कार्यालयबाटै पक्राउ गरेको हो।
२०÷२५ जना प्रहरीको टोली पक्राउ पूर्जी लिएर शनिबार दिउँसो सवा १२ बजे कार्यालयमै पुगेको थियो। मिति र समय नै उल्लेख नगरी लेखिएको पक्राउ पूर्जी लिएर प्रहरीले पक्राउ गरेको हो।
दैनिक मानसखण्डले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाशबहादुर चन्दको निर्देशनमा प्रहरीले अपहरण शैलीमा महेन्द्रनगरको बसपार्कमा होटल व्यावसाय गर्दै आएका दुई युवतीलाई नियन्त्रणमा लिएको समचार छापेको थियो।
मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै परिवारले सार्वजनिक अपराध अन्तर्गत उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक भीमप्रसाद दहालले बताउनुभयो। असार १ गते मुद्दा दर्ता भएको र शनिबार प्रहरीले पक्राउ गरेको हो।
दैनिक मानसखण्डले केहिदिनदेखी नियमित रुपमा प्रहरी ज्यादती विरुद्धका समाचार प्रकाशन गर्दै आएको थियो। यसैबीच नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखासहित जिल्लामा कार्यरत पत्रकार र विभिन्न संचार माध्यमले प्रहरीले पत्रकारलाई पक्राउ गरेको भन्दै घट्नाको निन्दा र भत्सर्ना गरेका छन्। पत्रकारहरुले तत्काल पक्राउ गरिएका दुवैजना पत्रकारलाई रिहा गर्न माग समेत गरेका छन्।






