एका बिहानै उत्तर कोरियाद्वारा श्रृखलाबद्ध मिसाइल प्रहार


सोल(दक्षिण कोरिया) : उत्तर कोरियाले बिहीबार बिहान श्रृखलाबद्धरुपमा ब्लास्टिक मिसाइल प्रहार गरेको छ । उत्तर प्रति केहि उदार मानिने मून जे इन दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि उसले गरेको यो पाँचौ मिसाइल परीक्षण हो । उत्तर कोरियाले बिहीबार पुर्वी तटबाट श्रृखलाबद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तरको पुर्वी तटबाट प्रहार गरिएका मिसाइल २०० किलोमिटर टाढा पुर्वी सागरमा खसेको दक्षिण कोरियाली सेनाले दावी गरेको छ । खाङ्वन प्रान्तको वन्सन नजिकैबाट चरणवद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाका जोइन्ट चिफस् अफ स्टाफले जनाएका छन् । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको जानकारी राष्ट्रपति मून जेइनलाई गराएका सैनिक श्रोतलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् ।
मुन राष्ट्रपति भएपछि उत्तर कोरियाले आणविक तथा मिसाइल परीक्षण रोक्ने कतिपयको विश्लेषण थियो । यद्यपी अमेरिकाले दक्षिण कोरियामा मिसाइल प्रतिरोधात्मक प्रणाली थाड तैनाथ गरेपछि क्रृद्ध बनेको उत्तरले त्यस यता मिसाइल परीक्षणलाई तीब्रता दिएको छ । जसको अन्तर्राष्ट्रिय समुदायले चर्कोरुपमा विरोध जनाउदै आएका छन् भने संयुक्त राष्ट्र संघ, अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा पारेका छन् ।