सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड


एसिड हमलाकी शिकार युवतीमाथि एकपटक पुनः एसिड फ्याँकिएको छ । पीडित महिलालाई लखनउस्थित होस्टलभित्र छिरेर एक अपरिचित व्यक्तिले उनीमाथि एसिड फ्याँकेका हुन् ।  स्मरण रहोस्, उनी त्यहि युवती हुन् जसमाथि गत मार्चमा ट्रेनभित्र एसिड हमला भएको थियो । उनलाई भेट्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अस्पताल पुगेका थिए ।

प्राप्त जानकारी अनुसार रायबरेलीका बस्ने यी युवती अलीगञ्जस्थित श्रमजीवी होस्टलमा बस्छिन् । उनी एक नीजि कम्पनीमा कार्यरत छिन् । शनिबार बेलुका उनी होस्टलको वासरुममा मुख धुन गएकी थिइन् र त्यति नै बेला कुनै अपरिचित व्यक्तिले उनीमाथि तेजाबले आक्रमण गरे ।

युवती चिच्याएको सुनेर होस्टेलका मानिसहरु त्यहाँ जम्मा भए । सुरक्षाकर्मीले तत्काल पुलिसलाई यसबारे जानकारी दिँदै युवतीलाई अस्पताल पुर्याइयो । होस्टेलका वार्डन नीरा सिंहले महिला सुरक्षाको मुद्दामा चिन्ता व्यक्त गरेका छन् । उनले यदि होस्टल भित्रै महिला सुरक्षित छैनन् भने महिलाले सुरक्षित महसुस गर्ने स्थान कहाँ छ भनी प्रश्न गरिन् ।

एसपी हरेन्द्र कुमारले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । पुलिसले वरिपरिका सिसिटिभी फुटेजको छानबिन गरिरहेको छ । चाँडै नै आरोपीलाई पक्राउ गरिने कुरामा पुलिस आशावादी छन् ।

स्मरण रहोस्, पीडिता सामूहिक बलात्कारको शिकार पनि भइसकेकी छिन् । पीडितालाई सामूहिक बलात्कारपछि एसिड हमला गरिएको थियो । पीडिताका अनुसार रेलभित्र दुई युवकले उनलाई बलजफ्ती एसिड पिलाए र गुडिरहेको रेलबाट हाम फाले ।