नवलपरासी : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेता सहभागी कार्यक्रम स्थल तनावग्रस्त बनेको छ । स्थानीय निर्वाचन कार्यक्रमको विरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा शनिबार लाठी जुलुस गरेको थियो ।
लाठी जुलुसपछि बुद्धचोकमा आयोजित सभालाई सम्बोधन गर्न काठमाडौंबाट अध्यक्ष महन्थसहित शीर्ष नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, ह्दयश त्रिपाठी, जितेन्द्र सोनाललगायतका नेताहरु परासी पुग्नु भएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गरिरहँदा एक्कासी कार्यक्रम स्थल तनावग्रसत बनेको थियो ।
कार्यक्रम स्थल नजिक रहेको मध्य नेपाल यातायत व्यवसायी समितिमा बसबाट लैजानका लागि एमालेको प्रचारप्रसारका लागि टिसर्टहरु राखिएको थियो।
उक्त टिसर्टहरु महन्थ ठाकुरसहितका शीर्ष नेताकै अगाडी जलाइएका थियो । केही कार्यकर्ता टिसर्ट राखेको भन्दै मध्यनेपाल यातायात समितिमा पुगेर तोडफोड गर्न थालेपछि राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।
सो क्रममा प्रहरीले केही अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । तनावपछि अध्यक्ष ठाकुरले बीचमै सम्बोधन छाड्नु भएको थियो । अश्रुग्यास प्रहार हुन थालेपछि ठाकुरसँगै राजेन्द्र महतो नजिकै रहेका होटलमा लुक्न पुग्नु भएको थियो ।
नेता ह्रदयश त्रिपाठीले कार्यकर्तालाई संयम हुन आग्रह गर्नुभएको थियो । तर स्थिति उग्र हुन थालेपछि प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो । रबरको गोली लागेर दुई घाइते भएका छन् ।






