बर्दिबास : वैदेशिक रोजगारीबाट फर्केका महोत्तरी गाँउपालिका वडा नम्बर १ पर्साका २३ वर्षीय युवक नजाम नदाफको घोचोले घोचेर निर्ममतापूर्व हत्या भएको छ। गाँउ नजिकैको कुटमेश्वरी नदी किनारको बाँधमा नदाफको शव आइतबार फेला परेको हो । नदाफ शनिबार साँझ घरबाट निस्किएका थिए ।
घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपछि क्षेत्रीय प्रहरी कार्यालय हेटौडाबाट कुकुर मगाएर घटनास्थल वरीवरीको वस्तुस्थिति पत्ता लगाउन अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरी डिएसपी दिपक पोखरेलले बताउनुभयो । शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
मृतकका बुबा ताहिर नदाफले छोराको हत्या कसले गरेको हो भन्नेमा आफुहरु अनभिज्ञ रहेको बताउनुभयो । ६ महिना पहिले मात्र छोरा विदेशबाट फर्केको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ तीन वर्ष पहिले मात्र छोराको विहे गरिएको थियो ।’
युवकको हत्या विभत्स भएकोले अनुसन्धानपछि मात्र केही बताउन मिल्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउको र घाँटीमा घोचोले घोचेर हत्या गरिएको छ ।






