२०७३ सालको एसईई परीक्षा नतिजा सार्वजनिक


काठमाडौं : गत चैत्रमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा सार्वजनिक भएको छ । केहीबेर अघि बसेको परीक्षा समितिको बैठक सम्पन्न भए लगतै एसईईको नतिजा सार्वजनिक गरिएको हो ।
विगतका वर्षमा एसएलसी भनिएको परीक्षालाई यस वर्षदेखि शिक्षा ऐन संशोधनसँगै एसईई नामकरण गरिएको हो । गत चैत पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार विद्यार्थी सहभागी भएका थिए ।
कुनै विद्यार्थीले आफ्नो ग्रेडिङमा चित्त नबुझे पुनर्योगका लागि १५ दिन भित्र निवेदन दिन सकिने बोर्डले जनाएको छ । यस्तै दुई विषयमा अनुत्तिर्ण वा अनुपस्थित भए ग्रेड बृद्धिका लागि मौका परीक्षाको व्यबस्था गरिएको छ । परीक्षा साउन १९ गते देखि २६ गते सञ्चालन हुने  जनाइएको छ ।बोर्डका अनुसार यो पटक देखि परीक्षाको नतिजा संघीय प्रणाली अनुसार गरिएको छ ।
नतिजा हेर्नका लागि शिक्षा मन्त्रालयको वेवसाईड www.moe.gov.np  शिक्षा विभागको वेवसाईड www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेवसाईड www. soce.gov.np र नेपाल टेलिकमको १६०० मा डायल  गरी थाहा पाउन सकिने छ । भने एनसेलबाट पनि १६०० डायल गरी नितजा हेर्न सिकने छ । 
यसअघि कक्षा १० अन्तिम परीक्षालाई एसएलसी भनिँदै आएकोमा गत असारमा भएको शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई एसएलसी मानिएको हो । कक्षा १२ सम्मलाई माध्यमिक तह मानिएसँगै एसएलसी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको दायित्व पनि राष्ट्रिय परीक्षा बोर्डमा गएको छ ।