घोराही : करणी मुद्दामा फरार भएका एक जनालाई दाङ प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। करणीको आरोप लागेका घोराही उपमहानगरपालिका वडा नं ११ का छविलाल भण्डारीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो।
अभियुक्त भण्डारीलाई घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको दाङका प्रहरी प्रमुख धीरज प्रताप सिंहले जानकारी दिनुभयो। दाङ देउखुरी जिल्ला अदालतले २०६० साल असार २ गते भण्डारीलाई तीन वर्षको कैदको फैसला सुनाएको थियो।
अदालतको निर्णय अनुसार ०५७ साल भदौ १८ गते देखि ०५८ मंसिर ७ गते सम्म कारागारमा बन्दी जीवन बिताएका थिए।
सशस्त्र द्वन्द्वको समयमा ०५८ साल मंसिर ८ गते दाङमा भएको आक्रमणको समयमा जेल तोडफोड गरी भण्डारी फरार भएको प्रहरीले जनाएको छ।
भण्डारीको बाँकी रहेको १ वर्ष ९ महिना र १० दिनको कैद भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको एसपी सिंहले जानकारी दिनु भयो।






