स्थायी शिक्षकबाट राजीनामा दिएका बुढा वडा अध्यक्षमा विजय


मंगलसेन : स्थायी शिक्षकबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका नरबहादुर बुढा आफ्नै पार्टीबाट बागी उम्मेदवार उठेर पनि वडा अध्यक्षमा विजयी हुनु भएको छ।

अछामको ढकारी गाउँपालिका वडा नम्बर ६ ढुंगाचाल्नाको वडा अध्यक्षमा ५९ बर्षीय बुढा ३ सय ९४ मत ल्याएर विजयी हुनुभएको हो। अष्टसिद्धि माविमा प्रावित तहमा कार्यरत स्थायी शिक्षक बुढा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएको थियो। उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका झंकर बुढालाई ८८ मतले पछिपार्दै विजय हाँसिल गर्नुभएको हो।
पार्टीको टिकट वितरणमा असन्तुष्टि जनाउदै कांग्रेसकै मोतीसिंह बुढाले वडा अध्यक्षमा पुरै प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिए पनि नरबहादुरले चुनाव जित्नुभएको छ। स्वतन्त्र उम्मेदवार बुढाले १ सय ५५ मत प्राप्त गर्नु भएको छ।
स्वतन्त्र उम्मेदवार बुढा र विजयी हुने बुढा दुवै जेठा र कान्छा बुबाका छोरा हुन्। दुबै एउटै विद्यालयमा कार्यरत शिक्षक पनि हुन्। स्वतन्त्र उम्मेदवार बुढा छ बर्ष अघि सेवा निवृत्त भइसक्नु भएको हो भने विजयी हुने बुढा सेवा निवृत्त हुन १३ महिना मात्र बाँकी थियो।