पाकिस्तान पुग्यो सेमिफाइनलमा, श्रीलंका बाहिरियो


काठमाण्डौं। पाकिस्तान आइसिसि च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सोमबार राति सम्पन्न रोमाञ्चक खेलमा श्रीलंकालाई तीन विकेटले पराजित गर्दै पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

श्रीलंकाले प्रस्तुत गरेको २ सय ३७ रनको लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको लागि कप्तान सर्फराजले नट आउट ६१ रनको योगदान गरे भने फखर जमानले ५० रन बनाए । त्यस्तै अज्हर अलिले ३४ तथा मोहम्मद अमिरले नट आउट २८ रनको योगदान गरे ।
बलिङतर्फ श्रीलंकका नुवान प्रदिपले तीन विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९।२ ओभरमा सबै विकेट गुमाएर २ सय ३६ रनको योगफल तयार पारेको थियो । उसका लागि निरोषन डिकवेलाले ७३ रनको योगदान गरेपनि टोलीको हार टार्न सकेनन् । श्रीलंकाका लागि कप्तान एन्जेलो म्याथ्युजले ३९ तथा कुसल मेन्डिज र असेला गुणरत्नेले समान २७ रन बनाए । त्यस्तै सुरांगा लकमलले २६ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका जुनैद खान र हसन अलीले समान तीन तीन विकेट लिए । त्यस्तै मोहम्मद अमिर र फहिम असरफले समान दुई दुई विकेट लिए ।

पाकिस्तानले अब सेमिफाइनलमा बुधबार इंगल्याण्डसँग खेल्नेछ ।