राष्ट्रपति भण्डारी स्विट्जरल्यान्डको जेनेभा प्रस्थान


राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छिन् । त्यहाँ आयोजना भइरहेको १०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ गएकी हुन् ।

राष्ट्रपति भण्डारीले सो शिखर बैठकलाई १ असारमा सम्बोधन गर्ने कार्यतालिका छ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उनले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम संगठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । नेपाल सन् १९६६ मा यस संगठनको सदस्य बनेको हो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री कृष्णबहादुर महराले विदाई गरेका थिए ।  मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, उच्च सरकारी अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक निकायका प्रतिनिधिले राष्टपति भण्डारीलाई विदाई गरेका थिए ।  सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत् अर्पण गरेको थियो । 

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी छन् । राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश आउने कार्यतालिका रहेको छ ।