प्रहरी भित्रको गुटबन्दी स्वीकार्य छैन : गृहमन्त्री


चितवन : गृहमन्त्री जनार्दन शर्माले कर्तव्य पालनाका क्रममा प्रहरी महानिरीक्षक र प्रहरी जवानको उद्देश्य एउटै रहेको बताउनु भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी सहायक निरीक्षकको आधारभूत तालिमको १७३ औं दिक्षान्त समारोहमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
मन्त्री शर्माले प्रहरीका बारेमा धेरै नकारात्मक टिप्णीहरु आउने गरेकाले प्रहरीलाई अनुशासित र जनताको विश्वासिलो बनाउने आफ्नो मुख्य उद्देश्य रहको बताउनुभयो । प्रहरी संगठनभित्र राजनीतिक गन्ध, गृटबन्दी र विभाजन आफूलाई कुनैपनि हालतमा सह्य नहुने भन्दै त्यस्ता कार्यमा प्रहरी संलग्न भएमा कारवाही गर्नै चेतावनी समेत गृहमन्त्री शर्माले दिनुभयो । उहाँले आफूले सधै चेन अफ कमाण्डबाट प्रहरी संगठन सञ्चालन गर्न जोड दिने धारणा व्यक्त गर्नुभयो ।

प्रहरीको बर्दीभित्र जनताको भावना र विश्वास अडिएको भन्दै शर्माले त्यसको सदुपयोग गर्न प्रहरीलाई आग्रह गर्नुभयो । तालिममा सहभागी १५० जना प्रहरीले प्रहरी सहायक निरीक्षकको कोर्सं पुरा गरी आजैबाट कार्य क्षेत्रमा प्रवेश गर्दै छन् ।