कांग्रेस प्रतिनिधिमाथि खुकुरी हानिएपछि एमाले नेतृ पक्राउ!!


गुल्मी, १५ असार – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुल्मी मदाने गाउँपालिका अन्तर्गत म्यालपोखरी मतदान केन्द्रमा मतदान सकिएपछि कांग्रेस प्रनिधिमाथि खुकुरी प्रहार भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । नेपाली कांग्रेसले रामकुमारी झाँक्री सहितका एक दर्जन एमाले नेताकार्यकर्ताको नाममा किटानी जाहेरी दर्ता गराएको छ ।

इलाका प्रहरी कार्यालय पुर्कोट दहले उनलाई नियन्त्रणमा लिएको हो । नेपाली कांग्रेसका प्रतिनिधि हरेराम खत्रीसहित दुई जना माथि एमाले कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका हुन् ।

खत्रीको कञ्चटमा गहिरो चोट लागेको छ । कांग्रेस कार्यकर्ताहरुले रामकुमारीकै नेतृत्वमा खुकुरी प्रहार गर्ने जस्तो उश्रृंखल काम भएको आरोप लगाएका छन् । मतदान सकिएपछि घर फर्किंदै गरेका खत्रीमाथि एमाले कार्यकर्ताहरुले बाटो कुरेर खुकुरी हानेको कांग्रेसले आरोप लगाएको छ ।

एमालेले चाहिँ दुबै पक्षबीच भनाभन हुँदा स्थिति नियन्त्रण भन्दा बाहिर गएको बताएको छ । एमाले नेतृ झाँक्रीको कमाण्डमा रहेका एमाले युवाहरुले खुकुरी हानेको कांग्रेसले आरोप लगाएको छ ।

सोही कारणले गर्दा मदाने गाउँपालिकामा अहिले सम्म पनि मतगणना सुरु हुन सकेको छैन । कांग्रेस कार्यकर्ताहरुले प्रहरीले समेत एमालेको पक्ष लिएर आफूहरुमाथि आक्रमण भएको आरोप समेत लगाएका छन् ।