नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु, दुई बेपत्ता


चितवन/ गोरखा : पहिरो पन्छ्याउन गएको इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीलाई पहिरोले बगाएको छ । इच्छाकामना गाउँपालिका ६ कालीखोलाको पहिरो पन्छ्याउन गएको प्रहरी सहायक निरीक्षक(असई) निश्चल तामाङ नेतृत्वको टोलीको प्रहरी भ्यानलाई पहिरोले बगाएको हो ।
राति एक बजे भएको दुर्घटनामा असई तामाङ र सवारी चालक दीपककुमार मास्केको शव भेटिएको इप्रका मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो । प्रहरी जवानहरु लीलबहादुर चेपाङ र सन्दीप कार्की अहिलेसम्म बेपत्ता छन् । बा १ झ १३९० नम्बरको प्रहरीको भ्यान अहिलेसम्म नभेटिएकाले दुई प्रहरी जवान गाडीभित्रै रहेको हुनसक्ने अनुमान गरिएको इन्स्पेक्टर हमालले बताउनु भयो ।मृतक प्रहरीको शव पहिरोबाट बाहिर निकालिसकिएको छ ।

पहिरोले ना ५ ख ७८२७ नम्बरको ट्रक पनि बगाएको छ । चालक गाडीबाहिर रहेको र सहचालक मात्र ट्रकमा रहेकाले सहचालक सानु ब्लोनलाई घाइते अबस्थामा उद्धार गरिएको छ । उनको अबस्था सामान्य रहेको प्रहरी निरीक्षक हमालले बताउनु भयो ।पहिरोले बा १ झ १३९० प्रहरी भ्यान प्रहरीको गाडि १५० मिटर तल बगाएको छ भने ट्रक ५० मिटर तल बगाएको छ ।
घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक दीपक थापासहितको सुरक्षा टोली परिचालन भएको हो । इप्रका मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनको टोली, सशस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम केन्द्रको टोली र चितवनस्थित नेपाली सेनाको टोली खोज तथा उद्धारमा खटिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।